An exclusive college for Science and Management
शिक्षादीपलाई नेपालकै एक नम्बर कलेज बनाउने उद्देश्य रहेको छ– प्रिन्सिपल खड्का

विराटनगरको शिक्षादीप कलेजलाई नेपालकै एक नम्बर कलेज बनाउने उद्देश्य रहेको प्रिन्सिपल ज्ञानबहादुर खड्काले बताएका छन् । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई साक्षी राखेर मोरङ जिल्लामा कलेज संचालन गरिरहेका दुई दर्जन भन्दा बढी प्रिन्सिपलका अगाडि शिक्षादीपक कलेजका प्रिन्सिपल खड्काले शिक्षादीपलाई नेपालकै एक नम्बर कलेज बनाएर छोड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शिक्षादीप कलेजले आयोजना गरेको ४ दिने वैज्ञानिक आविष्कार कार्यशाला गोष्ठीको आइतबार समापन समारोहमा प्रिन्सिपल खड्काले शिक्षादीप कलेजलाई नेपालकै ठुलो कलेज बनाउने उद्देश्यका साथ अगाडि बढिरहेको बताए । प्रिन्सिपल खड्काले राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क अनुसार लगातार ४ वर्षदेखि विद्यार्थी भर्नामा शिक्षादीप कलेज एक नम्बरमा रहेको बताए ।

शिक्षादीप कलेजले २ सय विद्यार्थीलाई निःशुल्क रूपमा अध्ययन गराइरहेको र केही विद्यार्थीलाई कलेजको पोसाक समेत उपलब्ध गराएको प्रिन्सिपल खड्काले बताए । डाक्टर बन्न नसक्ने गरिबका छोराछोरीलाई शिक्षादीप कलेजले कक्षा ११ र १२ को निःशुल्क रूपमा अध्ययन गराइदिएको र उनीहरू डाक्टर बन्ने तयारीमा रहेको प्रिन्सिपल खड्काले बताए । मेडिकल इन्जिनियरिङ तर्फ पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने सूचीमा शिक्षादीप कलेजका विद्यार्थी अग्रपङ्क्तिमा रहेको प्रिन्सिपल खड्काले बताए ।

कोशी प्रदेशको राजधानी विराटनगर शैक्षिक हब बन्नुमा शिक्षादीप कलेजको ठुलो देन रहेको प्रिन्सिपल खड्काले बताए । वैज्ञानिक आविष्कार कार्यशाला गोष्ठी समापन समारोहको प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उच्च शिक्षा अध्ययन सम्बन्धी थप कार्यक्रम संचालन गरेर शिक्षादीप कलेजलाई नेपालकै एक नम्बर कलेजको उपाधि प्राप्त गर्न अग्रिम बधाई र शुभकामना व्यक्त गरे ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, विराटनगर महानगरपालिकाका पूर्व मेयर, कोशी प्रदेश सभाका सांसद एवं शिक्षादीप कलेजका अध्यक्ष भीम पराजुली, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय एसोसिएसन नेपाल (हिसान) का केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) का सह प्राज्ञ डा. इन्द्रमणी भगत, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शिक्षादीपलाई नेपालकै एक नम्बर कलेज बन्न अग्रिम बधाई र शुभकामना व्यक्त गरे ।

शिक्षादीप कलेजले कक्षा ११ को वार्षिक परीक्षामा विज्ञान सङ्कायतर्फ प्रथम स्थान हासिल गरेका छात्रा रचिता दंगाल, छात्र रुसन दाहाल, कक्षा ११ कै व्यवस्थापन सङ्कायतर्फ प्रथम स्थान हासिल गरेका छात्रा नेन्सी राजवंशी, छात्रतर्फ रोशनकुमार महत्तोलाई नगद सहित प्रशंसा पत्र दिएर सम्मान गरेका छन् । कार्यक्रममा कलेजका शिक्षक राजेन्द्रप्रसाद यादव र सौगात भट्टराई, कर्मचारी दिपा बस्नेत केसी र दयाराम रिमाललाई सम्मान गरिएको छ ।