
विराटनगर । विराटनगर ९ मा रहेको शिक्षादीप कलेजले यस वर्ष पनि ‘शान्तिको लागि निश्शस्त्रीकरण’ विषयमा एक महत्वपूर्ण कविता प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको छ । आणविक हतियार परीक्षण विरुद्धको अन्तर्राष्ट्रिय दिवस, अगस्ट २९ को अवसर पारेर आयोजित यस प्रतियोगिताले विद्यार्थीहरूमा आणविक हतियारको विनाशकारी प्रभाव र निश्शस्त्रीकरणको आवश्यकता बारे गहिरो चेतना फैलाउने उद्देश्य राखेको थियो।
कलेजको विज्ञान संकायअन्तर्गत कक्षा ११ र १२ मा अध्ययनरत ६० जना विद्यार्थीहरूले यस प्रतियोगितामा उत्साहपूर्वक सहभागिता जनाएका थिए। विद्यार्थीहरूले आणविक हतियारको भयावहता, यसको प्रयोगले निम्त्याउन सक्ने विनास र विश्व शान्तिका लागि निश्शस्त्रीकरणको अपरिहार्यतालाई आफ्ना कवितामार्फत सशक्त रूपमा प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा विज्ञान संकायको कक्षा १२ मा अध्ययनरत छात्रा सिरिन भट्टराईले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरिन् । उनको कविताले निर्णायक मण्डल र दर्शक दुवैको मन जित्न सफल भयो। यस्तै, अलिसा सापकोटाले द्वितीय स्थान प्राप्त गरिन् भने मानसी मनोहर र प्रतिक भट्टराईले संयुक्त रूपमा तृतीय स्थान हासिल गरे।
सान्त्वना पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूमा सभ्यता रायमाझी, अपेक्षा राई, जस्मिन ढुंगाना, सुदिस साह, पंकज साह, मुस्कान खातुन, सहिष्णुता वराल, सम्राज्ञी बस्नेत र पूर्णिमा बुढाथोकी रहेका छन्। उनीहरूका प्रस्तुति पनि तारिफयोग्य थिए र प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाएका थिए।
कलेजका प्रमुख निर्देशक रमेश मण्डल, कवि एवं निर्णायक चुडामणि नेपाल ‘आकिन्चनु’ र कलेजका अंग्रेजी विभागका निर्देशक डा. विमल किशोर श्रीवास्तवको गरिमामय उपस्थितिमा विजेता विद्यार्थीहरूलाई नगद पुरस्कार र बहुमूल्य पुस्तकहरू वितरण गरियो। निर्णायकहरूले विद्यार्थीहरूको प्रयासको सराहना गर्दै उनीहरूलाई भविष्यमा पनि यस्ता सिर्जनात्मक कार्यमा संलग्न हुन प्रोत्साहित गरे ।
कलेजका निर्देशक भुपेन्द्र दाहालले प्रतियोगितामा विज्ञान संकायका ६० जना विद्यार्थीले भाग लिएको जानकारी दिँदै यसले विद्यार्थीहरूलाई सामाजिक र अन्तर्राष्ट्रिय मुद्दाहरूमा सचेत गराउन महत्वपूर्ण भूमिका खेलेको बताए । यस प्रतियोगिताले विद्यार्थीहरूमा केवल सिर्जनात्मक क्षमताको विकास मात्र नगरी, उनीहरूलाई विश्वव्यापी चुनौतीहरू बारे सोच्न र समाधानका लागि आफ्नो भूमिका खोज्न पनि प्रेरित गरेको कलेजले जनाएको छ ।