An exclusive college for Science and Management
शिक्षादीप कलेजका उत्कृष्ट ६२ मेधावी विद्यार्थी नगद सहित सम्मानित

विराटनगर । विराटनगरमा रहेको शिक्षादीप कलेजले कक्षा ११ का विज्ञान संकाय को आन्तरिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई नगद सहित सम्मान गरेको छ ।
शिक्षादिप कलेजको सभाहलमा सोमबार आयोजित एक विशेष समारोहका बीच कक्षा ११ को तेस्रो आवधिक परीक्षामा ७५ प्रतिशतभन्दा बढी अंक प्राप्त गर्ने ६२ जना विद्यार्थीहरूलाई सम्मान गरिएको हो।

सम्मानित हुनेमध्ये उत्कृष्ट १० (टप टेन) भित्र पर्न सफल विद्यार्थीहरूलाई कलेजले प्रशंसा पत्रका साथै नगद पुरस्कारले पुरस्कृत गरेको छ। विज्ञान संकायमा मात्रै १ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको यस कलेजले विद्यार्थीहरूको मनोबल उच्च राख्न हरेक वर्ष यस्तो प्रोत्साहन कार्यक्रम आयोजना गर्दै आएको कलेजका प्रिन्सीपल ज्ञान बहादुर खड्काले जानकारी दिनुभयो ।

यस वर्षको नतिजा अनुसार ९२.४४ प्रतिशत अंकका साथ साबिर अहमद हक प्रथम भएका छन् । त्यसैगरी ९१.७६ प्रतिशतसहित एलिसा सापकोटा द्वितीय र ९०.८९ प्रतिशत अंकका साथ विशेष पौडेल तृतीय भएका छन् । उत्कृष्ट १० भित्र पर्न सफल अन्य विद्यार्थीहरूमा कुसुम कुमारी राजवंशी, प्रीति देव, आयुष शर्मा, सुशान्त खत्री, प्रिन्स कुमार गुप्ता, सफल गौतम र राजु अधिकारी रहेका छन् । कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले उत्कृष्ट भएका विद्यार्थीहरुलाई हार्दिक बदाई ज्ञापन गर्दै आगामी दिनमा विद्यार्थीहरूको सफलतामा कामना समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रिन्सीपल खड्काले ११ कक्षाको एक चरण सकिएको छ र अब १२ कक्षाको बोर्ड परीक्षा तपाईंहरूको जीवनको ‘फलामे ढोका’ सरह भएकाले यसका लागि रातदिन मेहनत गर्न पनि विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
पुरस्कार वितरण समारोहमा कलेजका सञ्चालकहरू राजेन्द्रप्रसाद यादव, दयानन्द सिंह, डा .राजेन्द्रप्रसाद चौधरी, अनिलकुमार दास, प्रा.डा.ललितनारायण मण्डल, रामचन्द्र अधिकारी, शेषनारायण चौधरी र भूपेन्द्र दाहाल लगायतको उपस्थिति रहेको थियो। उनीहरुले विद्यार्थीहरूलाई खादा र पुरस्कार वितरण गर्दै उज्ज्वल भविष्यको कामना गरेका थिए ।